सरकारले गाईजात्राको अवसरमा नेवार समुदायका लागि सार्वजनिक विदा दिने

काठमाडौँ, ३ भदौ – सरकारले गाईजात्राको अवसरमा देशभर छरिएर रहेका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गते देशभरका नेवार समुदायलाई गाईजात्राको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै, बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ।

बैठकले काठमाडौं–तराई मधेस द्रुत मार्गका सहायक मार्ग निर्माणका लागि मकवानपुरका कालभैरव र गौरीशंकर सामुदायिक वनका रुख कटानी गर्ने पनि निर्णय गरेको छ।

प्रवक्ता कार्कीले सहसचिव डिल्ली शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको पनि जानकारी दिए।

Facebook Comments Box