बैतडीमा जन्ती बस दुर्घटना : मृतक संख्या १३ पुग्यो, सबै जनाको सनाखत

बैतडी, २३ माघ  –  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा ज्यान गुमाएका सबै १३ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ । पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस गएराति सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब २०० मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनापछि बिहीबार रातिसम्म आठ जनाको मृत्यु पुष्टि भएको थियो । थप पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुका अनुसार डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी, अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशी रहेका छन् ।

यसअघि दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी छन् । त्यस्तै, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला पनि मृतकको सूचीमा रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र चार जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला बेहुला–बेहुली भने अर्को सवारीसाधनमा सवार रहेकाले सकुशल रहेको जनाइएको छ । जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो ।

Facebook Comments Box