सिगाना बन्यो ‘सुन्तला गाउँ’, चार करोडभन्दा बढी आम्दानी

बागलुङ, २० माघ – बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’का रूपमा परिचित बन्दै गएको छ। व्यावसायिक सुन्तलाखेती विस्तारसँगै यहाँका किसानले वार्षिक रूपमा उत्पादन र आम्दानी दुवै बढाउँदै लगेका छन्। यस वर्ष मात्रै सिगानाबाट सुन्तला बिक्रीमार्फत चार करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ।

गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका स्थानीय किसान अनन्त खड्काले यस वर्ष भने रु सात लाख ५० हजारमा बगैँचा एकमुष्ट बिक्री गर्नुभएको छ। उत्पादन र मूल्य दुवै राम्रो पाएकामा खुसी व्यक्त गर्दै उहाँले आफूजस्तै एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गरेको बताउनुभयो।

सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा राम्रो माग रहेको छ। कोदोबारी र धानखेत मासेर विसं २०५० सालदेखि व्यावसायिक सुन्तलाखेती थालेका किसान अहिले खेती विस्तारमा जुटेका छन्। सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोट क्षेत्रमा सुन्तलाखेती तीव्र रूपमा फैलँदै गएको छ। अबको पाँच वर्षभित्र गाउँ नै सुन्तलाले ढाकिने अनुमान गरिएको छ।

गत वर्ष सुन्तला बिक्रीबाट रु तीन करोड ५० लाख आम्दानी भएकोमा यस वर्ष करिब रु ५० लाखले वृद्धि भई चार करोड पुगेको स्थानीय अगुवा शिवकुमार खड्काले बताउनुभयो। मौसम अनुकूल रहनु र रोग नलाग्नु उत्पादन वृद्धिको मुख्य कारण रहेको उहाँको भनाइ छ।

सिगानामा सुन्तला उत्पादनसम्बन्धी तथ्याङ्क गणेश कृषि सहकारीले संकलन गर्दै आएको छ। सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार गत वर्षदेखि व्यवस्थित रूपमा तथ्याङ्क संकलन थालिएकाले यस वर्ष सुन्तला बिक्रीबाट चार करोडभन्दा बढी रकम गाउँ भित्रिएको पुष्टि भएको हो। सहकारीमार्फत सुन्तलाखेती विस्तार, अनुदानमा बिरुवा वितरण र प्रविधि सहयोगसमेत हुँदै आएको छ।

हाल सिगानामा २५० भन्दा बढी किसानका साना–ठूला सुन्तला बगैँचा छन् भने यस वर्ष मात्रै ४०० नयाँ बोटले उत्पादन दिन सुरु गरेका छन्। साविकका ३, ४, ५ र ७ वडाका क्षेत्र सुन्तलाका लागि उपयुक्त मानिन्छन्। अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले जानकारी दिनुभयो।

स्थानीय किसानले पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन्। बगैँचा विस्तार, नियमित मलजल र व्यवस्थापनका कारण सिगानाको सुन्तलाखेती थप फस्टाउँदै गएको छ।

Facebook Comments Box