कोशी प्रदेशमा झापा–५ अति संवेदनशील निर्वाचन क्षेत्र घोषणा

काठमाडौँ, ७ माघ – कोशी प्रदेशमा झापा निर्वाचन क्षेत्र नम्बर–५ लाई सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई ‘अति संवेदनशील’ सूचीमा राख्दै सुरक्षा रणनीतिमा विशेष परिवर्तन गरेका छन् ।

नेकपा एमालेले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउने लक्ष्यसहित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गरेपछि सुरक्षा सतर्कता थप कडा बनाइएको हो ।

कोशी प्रदेशका एक उच्च सुरक्षा अधिकारीले  भने, “सबै निर्वाचन क्षेत्र संवेदनशील नै भए पनि झापा–५ लाई अति संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । सोहीअनुसार सुरक्षा रणनीति तयार पारिएको छ ।”

दुवै ‘हेभिवेट’ उम्मेदवार एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएकाले चुनौती थपिएको अधिकारीहरूले बताएका छन् । झापा–५ मा सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गर्दै सुरक्षा संयन्त्र थप मजबुत बनाइएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार समर्थकबीच झडप हुन सक्ने, चुनावी वातावरण बिथोलिन सक्ने र स्थिति नियन्त्रणबाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सुनसरी–१ दोस्रो अति संवेदनशील

सुरक्षा निकायले सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ लाई झापा–५ पछिको दोस्रो अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरेको छ । धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी मैदानमा उत्रिएपछि त्यहाँ पनि सुरक्षा सतर्कता बढाइएको हो ।

सुनसरी–१ मा लिम्बू र राई समुदायको बाहुल्यता रहेको छ । त्यसपछि ब्राह्मण–क्षेत्री, नेवार, दलित र तामाङ समुदाय रहेका छन् । प्रमुख दलहरूले परम्परागत रूपमा जातीय ‘क्लस्टर’ अनुसार उम्मेदवार उठाउँदै आएका छन् ।

यसपटक एमालेले टीका माङ्लेन लिम्बू, कांग्रेसले सुजेन्द्र तामाङ, रास्वपाले गोमा तामाङ (सरिन) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सूर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेदवार बनाएका छन् ।

साम्पाङको सामाजिक सञ्जाल पृष्ठमा समर्थक र अन्य दलका कार्यकर्ताबीच भएका तीखा टिप्पणी र प्रतिकृयाले चुनावी वातावरण बिग्रन सक्ने आशंका बढेकाले सुरक्षा संयन्त्र कडा बनाइएको प्रहरीले जनाएको छ ।

४३९ मतदान स्थल ‘अति संवेदनशील’

कोशी प्रदेशमा कुल ११ हजार ९०७ मतदान स्थल कायम छन् । तीमध्ये ४३९ मतदान स्थललाई झापा–५ र सुनसरी–१ बाहेक पनि ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

सुरक्षा निकायका अनुसार ८२१ स्थल संवेदनशील र ६४७ स्थल सामान्य चुनावी स्थलका रूपमा वर्गीकरण गरिएको छ । मतदान केन्द्रतर्फ ४,२७० मध्ये १,०१६ अति संवेदनशील, १,८६९ संवेदनशील र १,३८५ सामान्य केन्द्र रहेका छन् ।

कोशी प्रदेशमा मतदाता संख्या

कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल ३५ लाख ७४ हजार ३१० जना मतदाता छन् । तीमध्ये पुरुष १८ लाख २८ हजार २१३ जना, महिला १७ लाख ४६ हजार ७३ जना र अन्य २४ जना रहेका छन् ।

Facebook Comments Box