आज देशभर आंशिकदेखि सामान्य बदली रहि एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, २३ असोज – अहिले देशको पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदली छ भने तराई क्षेत्रका धेरैजसो स्थानमा मौसम सफा छ, आंशिक रूपमा मात्र बादल लागेको छ।

यस्तै यतिबेला प्रदेश १, बागमती र गण्डकीका पहाडी भगेका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

मौसम महाशाखाका अनुसार नेपालका तीनवटा प्रदेशबाट मनसुन हटिसकेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र र लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट शुक्रबार मनसुन हटेको हो।

बाँकी प्रदेश तथा स्थानमा भने मनसुन कायमै छ। यो हट्न अझै केही दिन लाग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन्। ‘अझै ३/४ दिनभन्दा पनि बढी लाग्न सक्छ’, मौसमविद् नगरकोटीले भनिन्।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि छ।

मौसमविद् नगरकोटीका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। ‘तर सम्भावना निकै न्यून छ’, उनले भनिन्।यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments Box