वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

कैलाली, ७ पुस – चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँको परिवार विगत तीन वर्षदेखि पालमा बस्दै आएका छन्। केही वर्षअघि आएको भीषण पहिरोले विस्थापित बनाएपछि चुरे–४ स्थित मसुरी गाउँका घर्ती परिवारले जग्गा भाडामा लिएर घर बनाएका थिए। तर, जग्गाधनीले बीचमै जग्गा नदिने बताएपछि उनीहरू त्यहाँबाट पनि विस्थापित हुनुपर्‍यो।

“त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ,” विगत सम्झिँदै नवलसिंह भन्नुहुन्छ, “त्यहाँ धेरै परिवार थियौँ। वन अतिक्रमण गरेको भन्दै हटाइएपछि कतै जाने ठाउँ रहेन। अन्ततः यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ।”

उही स्थानमा बस्दै आउनुभएका रतन नाथको पीडा पनि उस्तै छ। डडेल्धुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारत जानुभयो। उहाँ भारतमै हुँदा गाउँमा नापी टोली आएको थियो। आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नापी गराएछन्।

“बुवाआमा सानैमा बित्नुभयो, म परदेशमा थिएँ,” उहाँ भन्नुहुन्छ, “फर्किँदा मेरो टेक्ने जमिनसम्म रहेन।” विसं २०६० मा डडेल्धुरा छाडेर चुरे–४ स्थित गुठीको जमिनमा बसोबास गर्न थाले पनि त्यहाँबाट हटाइएपछि अहिले बालुवागडामा आएर बस्नुपरेको उहाँले बताउनुभयो।

रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालय नजिकैको जङ्गल छेउको खेलमैदानमा पालमुनि बस्दै आएको छ। “यो हाम्रो इच्छा होइन, बाध्यता हो,” उहाँ भन्नुहुन्छ, “स्कुलले मैदान खाली गरिदिन भनिरहेको छ, अब कहाँ जाने थाहा छैन।”

त्रिपालमुनिको जोखिमपूर्ण जीवन

हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन्। तीमध्ये केही परिवारका अभिभावक रोजगारीका लागि भारत गएकाले घरमा बालबालिका मात्रै छन्। जङ्गलमा बस्न बाध्य उनीहरूको जीवन अत्यन्तै कष्टकर छ।

स्थानीय कली नाथका अनुसार जाडो मौसममा पालभित्र बालबालिकाले चिसो धान्न सक्दैनन्। वर्षायाममा पानी चुहिएर खाद्यान्न र लत्ताकपडा भिज्ने समस्या छ। “पानी पर्दा टहराभित्रै भेल पस्छ,” उहाँ भन्नुहुन्छ, “रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ। कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनुपरेको छ। तर जाने ठाउँ नभएकाले यही जोखिमसँग जुधेर बस्नुपरेको छ।”

गिट्टी कुटेरै जीविका

यहाँका महिलाहरूको दिनचर्या बालुवा खोलामै बित्छ। खोलाबाट सङ्कलन गरिएको गिट्टी नै उनीहरूको मुख्य आम्दानीको स्रोत हो। “छोराछोरीको परीक्षा नजिकिँदै छ,” स्थानीय बुदीसरा सिंजाली भन्नुहुन्छ, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने सोचमा छौँ।”

प्रति घनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने आम्दानीले घरको नुन–तेल चल्ने गरेको उहाँ बताउनुहुन्छ। बुदीसराजस्तै अन्य महिलाहरूको पनि जीविकोपार्जनको एउटै आधार गिट्टी कुटाइ हो। चुरेका विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारविहीन परिवारको अवस्था पनि उस्तै रहेको चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताउनुभयो।

उहाँका अनुसार २०७७ सालमा आएको बाढीलगायत विभिन्न कारणले विस्थापित ११६ परिवार चुरे–४ का पनेरुगडा, टाँकगडा, बालुवागडा तथा चुरे–१ का खामाहाले, खानीडाँडालगायत क्षेत्रमा अस्थायी रूपमा बस्दै आएका छन्। सुरुमा वन क्षेत्रमा करिब ७ सय परिवार बसोबास गरिरहेको पाइए पनि छानबिनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन रहेको पुष्टि भएको थियो।

वन क्षेत्र अतिक्रमण गरेको भन्दै विसं २०७९ मा वन कार्यालयले उनीहरूलाई हटाएको थियो। “विस्थापितहरूको समस्या साँच्चिकै गम्भीर छ,” वडाध्यक्ष मगर भन्नुहुन्छ, “तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्न आफ्नै जमिन छैन। वन कार्यालय हटाउन खोज्छ, उनीहरूको जाने ठाउँ छैन। यही कारण उनीहरू जोखिमपूर्ण अवस्थामा छन्।”

चुरेका यी विस्थापित परिवारहरू राज्यले सुरक्षित घरबासको व्यवस्था गर्ला कि भन्ने आशामा वर्षौँदेखि पर्खिरहेका छन्। आफू पनि यही देशका नागरिक भएकाले सरकारले अभिभावकको भूमिका निभाओस् भन्ने उनीहरूको अपेक्षा छ।

Facebook Comments Box