मर्चवार क्षेत्रमा मोतियाबिन्दु भयावह, चेतनाको अभाव र गरिबीले बढायो जोखिम
रुपन्देही, २१ मङ्सिर – सदरमुकाम भैरहवाको छेउमै रहे पनि सेवासुविधा र पहुँच अभावका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका रोग विशेषगरी मोतियाबिन्दु भयावह रूपमा देखिएको छ। शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा आयोजित स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले आँखा जाँच गराएका थिए, जसमा ९० प्रतिशतमा मोतियाबिन्दुको समस्या देखिएको लुम्बिनी नेत्रालयका डा. दीपेन्द्र यादवले जानकारी दिए।
मझगावाकी साथिया खातुनको उदाहरणले यहाँको जटिल अवस्था झन् स्पष्ट बनाउँछ। मोतियाबिन्दु शल्यक्रिया निःशुल्क हुने व्यवस्था हुँदाहुँदै पनि शल्यक्रियापछिको हेरचाहको अभाव र सामाजिक एक्लोपनका कारण उनले उपचार अस्वीकार गरिन्। “श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैनथ्यो,” उनले गुनासो गरिन्। डा. यादवका अनुसार उपचारभन्दा ठूलो चुनौती भनेको यस्तो सामाजिक अवस्था नै हो, जसले धेरै बिरामीलाई उपचारबाट बञ्चित गरेको छ।
मर्चवारमा पुगेको स्वास्थ्य शिविरमा मोतियाबिन्दुका साथै टेरिजियम (आँखामा मासु पलाउने) समस्या पनि ठूलो संख्यामा देखिएको चिकित्सकहरूले जनाए। भैरहवामा आधुनिक सुविधा पुगेका आँखा अस्पताल धेरै भए पनि चेतना, आर्थिक अभाव र दुर्गम भौगोलिक अवस्थाले मर्चवारका बासिन्दा उपचारसम्म पुग्न नसक्ने गरेको डा. यादव बताउँछन्।
उमेर समूह ५० देखि ६० वर्षका व्यक्तिमा मोतियाबिन्दु बढी देखिने र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अपरिहार्य हुने चिकित्सकहरूको भनाइ छ। महिलामा यस रोगको दर झनै बढी देखिन्छ। “समयमै स्क्रिनिङ नहुँदा समस्या जटिल बन्छ,” डा. यादव भन्छन्, “स्थायी समाधान भनेको लेन्स प्रत्यारोपणमार्फत शल्यक्रिया हो।”
लुम्बिनी नेत्रालयका डा. हीरा शाहका अनुसार लुम्बिनी प्रदेशमै ३० हजारभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको छ, जसमा रुपन्देहीको मर्चवार क्षेत्र अझ बढी प्रभावित रहेको छ। सचेतना, नियमित परीक्षण र पहुँच विस्तारले समस्या न्यूनीकरण गर्न सकिने उनको सुझाव छ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले क्लबको १०औँ स्थापना दिवस अवसर पारेर शिविर आयोजना गरिएको बताए। उनले मर्चवार क्षेत्रमा मात्रै कम्तीमा २५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य तय गरेको बताए। “एकै क्षेत्रबाट २५० भन्दा धेरै मोतियाबिन्दुका बिरामी भेटिनु स्वयं डरलाग्दो तथ्य हो,” उनले भने।
समाजसेवी रामगणेश पालका अनुसार निःशुल्क उपचार उपलब्ध भएपछि धेरै विपन्न परिवारका लागि यो शिविर जीवन बदलिदिने अवसर बनेको छ। “पहिले अज्ञानता र दूरीका कारण वञ्चित भएकाहरूले अब आँखाको ज्योति पाउने सम्भावना बढेको छ,” उनले बताए। मर्चवारका नागरिकको आँखाको स्वास्थ्य गम्भीर बन्दै गएपछि यसतर्फ सरकारी ध्यान आवश्यक भएको सरोकारवालाहरूको जोड छ।

