दुर्गा प्रसाईं समूहले गर्यो विरोधका सबै कार्यक्रम फिर्ता
काठमाडौँ, ७ मङ्सिर – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएका सबै विरोध कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताललगायतका कार्यक्रम रोक्ने निर्णय भएको हो। सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन्।
वार्तामा महाअभियानले राखेका २७ बुँदे मागबारे विस्तृत छलफल भएको र निरन्तर संवाद र सहजीकरणमार्फत मागहरूको सम्बोधन गर्न सरकारले सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ। सहमति अनुसार महाअभियानले घोषणा गरेका विरोध कार्यक्रमलाई शान्तिपूर्ण कार्यक्रममा रूपान्तरण गर्ने र अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित छिट्टै गर्ने समझदारी भएको छ।

