ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा, ३१ असोज – ओखलढुङ्गा जिल्लामा पछिल्लो दुई आर्थिक वर्षमा एक सय जनामा क्षयरोग (टिबी) सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्म सो सङ्ख्याका संक्रमित भेटिएका हुन्।

कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३० महिला, र चालु आव २०८२/८३ मा हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग पाइएको छ। गत आवमा सबैभन्दा बढी सङ्क्रमण सिद्धिचरण नगरपालिकामा ४० जनामा पुष्टि भएको थियो। अन्य स्थानीय तहमा सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा ४, मोलुङमा २ र चिश्खुगढीमा १ जनामा क्षयरोग भेटिएको थियो।

चालु आवमा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना र सुनकोशी गाउँपालिकाका एक जनामा नयाँ सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ। सूचना अधिकारी पोखरेलका अनुसार, रुघाखोकी लामो समयसम्म नठीक हुने, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति पसिना आउनु, तौल घट्नु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

पछिल्लो समयमा कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि सचेतना, जाँच र उपचार सेवाको प्रभावकारिता बढाउन स्वास्थ्य कार्यालयले सबै स्थानीय तहसँग घनिष्ठ समन्वय सुरु गरेको छ।

Facebook Comments Box