पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

भोजपुर, ३० असोज – भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथिको चुहार पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष पुग्दा पनि अझै सम्पन्न हुन सकेको छैन। विसं २०७७ मा दुई वर्षभित्र सक्ने लक्ष्यसहित निर्माण थालिएको यो पुल अहिलेसम्म अधुरो अवस्थामा छ।

कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो। सुरुमा दुवैतर्फका पिलर निर्माण भए पनि काम निरन्तर अघि नबढ्दा पुल अपूरो रहेको हो।

लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह — रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक गरेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार पुल निर्माणमा भएको ढिलाइले तीनवटै पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। उहाँले भन्नुभयो, “प्रदेश सरकारले दुई वर्षमा बनाउने भनिएको पुल पाँच वर्षसम्म पनि बनेको छैन। हामी संयुक्त पहलमार्फत सरकारलाई काम अघि बढाउन दबाब दिनेछौँ।”

संयुक्त बैठकमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका उपाध्यक्ष अशोक राई, तीनै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू र सरोकार भएका निकायका प्रतिनिधि सहभागी थिए।

तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन्।

विसं २०७७ असोज २७ गते शिलान्यास गरिएको उक्त पुलले भोजपुरको हतुवागढी–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्नेछ। पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ।

स्थानीयवासीका अनुसार पुल बनेपछि यस क्षेत्रको यातायात, व्यापार र सामाजिक सम्पर्कमा सहजता आउनेछ। तर लामो समयदेखि निर्माणकार्य ठप्प रहँदा उनीहरू निराश भएका छन्।

Facebook Comments Box