युएईबाट रेड नोटिसमा परेकी महिला युएईबाट पक्राउ

काठमाडौँ, १० असोज – ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी एक महिलालाई प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ गरी नेपाल ल्याएको छ । पक्राउ परेकी महिला धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने तथा सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार दाहाल ठगी मुद्दामा संलग्न भई फरार रहेकी थिइन् । उनको खोजतलासका लागि इन्टरपोल राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा गत चैत २१ गते इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो ।

उक्त नोटिसका आधारमा युएईमा पक्राउ परेकी दाहाललाई बिहीबार नेपाल ल्याइएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

Facebook Comments Box