आजको मौसम बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३१ भदौ – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान वरिपरि रहेकामा अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’ अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही क्षेत्रमा मध्यम वर्षा हुने अनुमान छ।
कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने र यातायात प्रभावित हुन सक्ने चेतावनी जारी गर्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

