जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

चौतारा, १६ भदौ – जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा चौँरीपालन व्यवसाय सङ्कटमा परेको छ ।

तीन हजारदेखि छ हजार मिटर उचाइको हिमाली खर्कमा पुस्तौँदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण, घाँसको कमी, मौसमी परिवर्तनलगायत कारणले चौँरी, याक तथा भेडापालन गर्ने किसान निराश बन्न थालेका छन् ।

जुगल गाउँपालिका–तेम्बाथनका पासाङ शेर्पाले हिमाली क्षेत्रमा घाँस पाउन गाह्रो भएकाले चौँरीपालन संकटमा परेको बताए । “पहिले जस्तो चिसो छैन, हिमालमा हिउँ छैन,” उनले भने, “त्यसैले चौँरीलाई अनुकूल घाँस हराउँदै गएको छ ।”

पाँचपोखरी क्षेत्रमा चौँरीपालन गर्दै आएका ईन्द्रबहादुर गुरुङले भने चौँरी धमाधम मर्न थालेपछि पुस्तौँदेखिको पेशाबाटै पलायन गर्नुपरेको बताए । उनका अनुसार हिजोआज मौसम चौँरीअनुकूल छैन, चरनयोग्य बोटबिरुवा हराउँदै गएका छन् ।

यस्तै, किसान दलु लामाले चौँरी तथा भेडा विभिन्न रोगले मर्न थालेको र व्यापारीले सस्तोमा किन्नेर महँगोमा बेच्ने प्रवृत्तिले पनि पेशाप्रति युवामा आकर्षण घटेको बताए ।

लेकाली भेगका तामाङ र शेर्पा समुदायका लागि चौँरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखी प्रमुख आम्दानीको स्रोत हो । तर पछिल्ला वर्षमा चौँरी गोठ घट्दै गएपछि यो पेसा जोखिममा परेको छ ।

जिल्ला पशु शाखाका अनुसार अहिले सिन्धुपाल्चोकमा १३१ चौँरी तथा भेडापालक किसान मात्र सक्रिय छन् । भोटेकोसी, जुगल, पाँचपोखरी, हेलम्बु र बाह्रबिसे क्षेत्रमा मुख्यतया चौँरीपालन हुने गरेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले चौँरी तथा याक संरक्षणका लागि बीमा कार्यक्रम ल्याइएको र यसलाई व्यावसायिक बनाउन प्रयास भइरहेको बताए ।

तर पालिकाको पहलका बावजुद राज्य तहबाट पर्याप्त प्रोत्साहन नपाएकाले चौँरीपालन अझै परम्परागत स्तरमै सीमित रहेको उनको भनाइ छ । जलवायु परिवर्तन र आधुनिक प्रविधिको अभावकै कारण सिन्धुपाल्चोकको चौँरीपालन संकटग्रस्त बन्दै गएको किसानको निष्कर्ष छ ।

Facebook Comments Box