दसैँ लक्षित १५ हजार भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान

मुस्ताङ, १६ भदौ – यस वर्ष मुस्ताङबाट करिब १५ हजार भेडाच्याङ्ग्रा दसैँका लागि निकासी हुने प्रक्षेपण गरिएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यो सङ्ख्या गतवर्षको तुलनामा दोब्बर हो ।

गत वर्ष मुस्ताङमा ८ हजार भेडाच्याङ्ग्रा बाहिरिएको थियो भने डोल्पाबाट करिब ४ हजार भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बेँसीतर्फ गएको थियो । जम्मा १२ हजार बढी च्याङ्ग्रा निकासी भएकोमा यस वर्ष मुस्ताङ र डोल्पा दुवै मिलाएर २० हजार बढी च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङकै सबैभन्दा ठूलो च्याङ्ग्रा उत्पादन क्षेत्र हो । यसै पालिकाबाट मात्रै ५ हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ भने अन्य चार पालिकाबाट करिब २,५०० को संख्यामा निकासी हुने अपेक्षा छ ।

जिल्ला भेटेरिनरी कार्यालयका तथ्याङ्कअनुसार अहिले मुस्ताङमा ६४ हजार ४०८ वटा भेडाच्याङ्ग्रा र बाख्रा छन् । त्यसमा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा ५,४२६ र बाख्रा २,५७७ रहेका छन् ।

गत वर्ष एक भेडाच्याङ्ग्रा २८ हजारदेखि ३५ हजार रुपैयाँमा बिक्री भएको थियो । यस वर्ष पनि मूल्य त्यही स्तरमा रहने अनुमान गरिएको छ ।यससँगै चीनतर्फको व्यापार पनि सुस्तरी बढ्दै गएको छ ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार व्यापारीले आवश्यक क्वारेन्टाइन प्रमाणपत्रसहित ल्याए तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याउन कुनै समस्या छैन । भन्सार राजस्व संकलन पालिकाको सहयोगमा स्वास्थ्य जाँच गरेर लिइने गरिएको छ ।

यसरी हेर्दा, यो वर्षको दसैँमा काठमाडौं उपत्यका र अन्य शहरमा मुस्ताङ–डोल्पाबाट आएको २० हजारभन्दा बढी च्याङ्ग्राको आपूर्ति हुने देखिएको छ ।

Facebook Comments Box