एक वर्षमा काठमाडौँमा २७ सयभन्दा बढी आगलागी

काठमाडौँ, २८ साउन

पछिल्लो एक वर्षमा काठमाडौँमा २,७२२ वटा आगलागीका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी परिसरका अनुसार सबैभन्दा धेरै १,८७६ घटना बिजुलीका पोल, ट्रान्सफर्मर र मिटरबक्समा ‘सट’ भएर भएका हुन्।

त्यसैगरी ४०७ घटना घरमा, ४५ ग्यास चुहावट र ६८ वनजङ्गलमा आगलागीका रूपमा रहेका छन्। अन्य कारणबाट ३२६ वटा आगजनीका घटना भएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार आगलागीको सूचना पाउनासाथ प्रहरी अन्य निकायसँग समन्वय गरी तत्काल प्रतिकार्यमा खटिन्छ। गत आर्थिक वर्षमा ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभित्रै घटनास्थलमा पुगेको तथ्याङ्क छ।

यस्तै, २४ प्रतिशत घटनामा १० मिनेट, २१ प्रतिशत घटनामा १५ मिनेटभित्र प्रहरी पुगेको छ भने केही घटनामा ३० मिनेटभन्दा बढी समय लागेको पनि तथ्याङ्कले देखाएको छ।

गत वर्ष काठमाडौँमा सबैभन्दा धेरै धर्ना, विरोध र्‍याली, अनसन र तालाबन्दीका घटना भएका छन्। नेपालभर भएका धर्नामध्ये ४२.७३ प्रतिशत र विरोध र्‍यालीमध्ये २१.६१ प्रतिशत काठमाडौँमै भएका हुन्। यस्ता गतिविधि नियन्त्रणमा लिन तीन लाख ८६ हजार ९४० प्रहरी जनशक्ति परिचालित गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box