पीजी लाइसेन्स परीक्षामा ९२ प्रतिशत चिकित्सक उत्तीर्ण

📍 काठमाडौँ, १९ साउन 

नेपाल मेडिकल काउन्सिलले लिएको स्नातकोत्तर तह (पीजी) लाइसेन्स परीक्षामा करिब ९२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार यो अहिलेसम्मकै उच्च सफलता दर हो।

साउन १५ र १६ गते सञ्चालन भएको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सकले सफलता हात पारेका हुन्। यो दर अघिल्लो वर्षको साउनमा लिइएको परीक्षाको तुलनामा ०.३७ प्रतिशतले बढी हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार यसपटक परीक्षाका लागि १,०७९ जनाले फारम भरेका थिए, जसमध्ये १,०७६ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ९८८ जना (९१.८२%) उत्तीर्ण भएका छन् भने ४ जनाको नतिजा रोकिएको छ।

डा. देवका अनुसार,

“यो पहिलो पटक हो, जब पीजी लाइसेन्स परीक्षामा यति धेरै चिकित्सक उत्तीर्ण भएका छन्। यो नतिजा चिकित्सा शिक्षाको स्तरको सूचकसमेत हो।”

यसपटकको विशेष परीक्षामा कुल ३६ विषयका परीक्षार्थीहरू सहभागी भएका थिए। परीक्षा उत्तीर्ण गरेका चिकित्सकहरू विशेषज्ञ चिकित्सकको रूपमा आधिकारिकरूपमा सेवा दिन सक्ने अधिकार पाउँछन्। नेपाल मेडिकल काउन्सिलले हरेक वर्ष साउन महिनामा पीजी लाइसेन्स परीक्षा लिने गर्छ।

Facebook Comments Box