१२ कक्षाको नतिजा सार्वजनिकको तयारी, परीक्षा बोर्डको बैठक जारी
📍 काठमाडौँ, १९ साउन २०८२
राष्ट्रिय परीक्षा बोर्ड (NEB) को बैठक अहिले बोर्ड कार्यालयमा बसिरहेको छ। बैठक कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीको चरणमा रहेको जनाइएको छ।
बोर्डले आइतबार नतिजा सार्वजनिक गर्नु अघि डेमो परीक्षण (Demo Preview) सम्पन्न गरिसकेको छ। बोर्डको क्यालेन्डरअनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका थियो। तर, शिक्षकहरूको आन्दोलनका कारण सो मिति प्रभावित भएको हो।
बोर्डका अनुसार चालू वर्षको परीक्षा गत ११ वैशाखमा सुरु हुने तालिका थियो। तर, २० चैतदेखि २९ दिन लामो शिक्षक आन्दोलन भएपछि परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो।
यसपटकको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षा सम्पन्न भएको करिब तीन महिनापछि मात्रै नतिजा सार्वजनिक गर्न लागिएको हो।
बोर्ड स्रोतका अनुसार, यदि बैठकमा अन्तिम सहमति जुट्यो भने नतिजा आजै वा भोलि (२० साउन) सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।

