महिलामैत्री छैन सिरहाको कारागार, संरचना अधुरो, समस्या जटिल
सिरहा, ९ साउन – महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकताको माग बारम्बार उठ्दै आएको छ। तर सिरहास्थित कारागारमा हालसम्म त्यस्तो कुनै सुविधा उपलब्ध छैन।
कारागार प्रशासक सुवोधकुमार महतोका अनुसार महिला कैदीबन्दीका लागि छुट्टै संरचना छैन, र हाल प्रयोगमा रहेका भवनहरूमा पनि आवश्यक भौतिक पूर्वाधार नपुगेका कारण समस्या झनै जटिल बनेको छ। महतोका अनुसार करिब एक महिनाअघि त्यहाँ रहेका महिला कैदीबन्दीलाई अन्यत्र सारिएको छ।
महिला कैदीका लागि छुट्टै आवासीय भवन, सुरक्षित शौचालय र स्नानगृह, शिशुसहित महिला कैदीका लागि बाल संरक्षण कक्ष, गोपनीय भेटघाट कक्ष जस्ता सुविधा अपरिहार्य मानिन्छन्। तर यी सुविधा सिरहाको कारागारमा अझै पनि अभावमा छन्।
अधुरो भवन, अपूरो योजना
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटमा करिब ६० लाख रुपैयाँ विनियोजन गरेर महिला कैदीका लागि नयाँ भवन निर्माण थालिएको थियो। तर हालसम्म उक्त भवन अधुरो छ, र महिलामैत्री आवश्यक संरचना पनि त्यहाँ समावेश गरिएको छैन। प्रशासक महतो भन्छन्, “कम्पाउन्ड वाल, खानेपानी, शौचालय, सेफ्टी ट्याङ्की, सेन्ट्री पोस्ट र भेटघाट कक्ष नहुँदासम्म उक्त भवन प्रयोगविहीन हुन्छ।”
अझ चिन्ताको विषय त यो हो कि उक्त भवनमा झ्यालहरूमा प्रयोग गरिएको सिसा सुरक्षाका दृष्टिले अत्यन्तै जोखिमपूर्ण छ। “सिसा फुटाएर अवाञ्छित गतिविधि वा घटना घट्ने सम्भावना रहन्छ,” महतोले भने, “यो किन प्रयोग गरियो, मलाई थाहा छैन। म यहाँ प्रमुख बनेर आएको डेढ महिना मात्रै भयो।”
अत्यधिक भीड, जीर्ण संरचना
सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको हो। आजसम्म यसलाई स्तरोन्नति गरिएको छैन। पुराना संरचना, अपुग सुविधा र क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा अवस्था भयावह बनेको छ। १५० जना क्षमताको कारागारमा हाल ४४२ जना कैदीबन्दी राखिएका छन्।
अत्यधिक भीडभाडकै कारण साउन ४ गते कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए। उनीहरूको हाल काठमाडौँमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ।

