कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ, ३ साउन – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहँदा देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली भएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना समेत रहेकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

यस वर्षाले दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सबै सरोकारवाला निकाय र नागरिकहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box