‘साउन डेङ्गी सचेतना’ महिना घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ, ३२ असार – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’ को रूपमा घोषणा गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममार्फत स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यो घोषणा गर्नुभएको हो।

डेङ्गी नियन्त्रणका लागि मासिक अभियान

मन्त्री पौडेलका अनुसार, साउन महिनामा डेङ्गी संक्रमणको जोखिम उच्च हुने भएकाले साउनको प्रारम्भदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ‘सचेतना महिना’ घोषणा गरिएको हो।

उहाँले साउनदेखि कात्तिकसम्म जोखिम हुने भएकाले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।

“डेङ्गीको संक्रमण साउनमा तीव्र हुने गर्छ। सतर्कता अपनाउन सके संक्रमण घटाउन सकिन्छ,” — मन्त्री पौडेल

सहकार्यमा जोड

मन्त्री पौडेलले डेङ्गी नियन्त्रण सरकारको एकल प्रयासले सम्भव नभएको भन्दै निजी क्षेत्र, टोल र समुदायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

घर वरिपरि पानी जम्न नदिन आग्रह

मन्त्रालयका सचिव डा. विकास देवकोटाले साउनमा भारी वर्षाका कारण घर वरपर पानी जम्ने सम्भावना बढी हुने भएकाले साफ–सुग्घर राख्न सबैलाई आग्रह गर्नुभयो।

उहाँका अनुसार, गत वर्ष सञ्चालन गरिएको ‘खोज र नष्ट गर’ अभियानले सकारात्मक प्रभाव पारेको छ। यसपालि पनि निरन्तरता दिन सकिएमा संक्रमण न्यून गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

“डेङ्गी उन्मूलन सम्भव छैन, तर जीवनशैली परिवर्तन गरेर संक्रमणबाट जोगिन सकिन्छ।” — डा. देवकोटा

लामखुट्टे नियन्त्रण नै मुख्य उपाय

स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेङ्गी एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे खोजेर नष्ट गर्नु नै प्रभावकारी उपाय भएको बताउनुभयो।

विश्व स्वास्थ्य सङ्गठन (WHO) नेपाल प्रमुख डा. राजेश पाण्डवले डेङ्गी नियन्त्रणमा बहुक्षेत्रीय समन्वय र सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो।

स्थानीय तहलाई निर्देशन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय तहमार्फत अभियान सुरु गरिसकिएको जानकारी दिनुभयो। किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार,

  • डेङ्गी प्रायः पानी जम्ने सफा स्थानमा एडिज एजिप्टी वा एल्बोपिक्टस प्रजातिका लामखुट्टेले अण्डा पार्दा संक्रमण फैलिन्छ।

  • अण्डाबाट निस्केको लार्भा वयस्क लामखुट्टे बनेपछि टोकेमा संक्रमण सर्छ।

सङ्क्रमण पुस १७ – असार ३१ सम्म

  • ७३ जिल्लामा

  • १,९८३ जनामा डेङ्गी पुष्टि

Facebook Comments Box