गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ, २० असार – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई “क्रान्ति र शान्तिका नेता”का रूपमा स्मरण गर्नुभएको छ।

गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो,

“गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो।”

उहाँले गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रिया अघि बढाउने, र गणतन्त्र स्थापनाजस्ता तीन ऐतिहासिक परिघटनामा निर्णायक भूमिका खेलेको स्मरण गर्नुभयो।

राष्ट्रपति पौडेलका अनुसार, जीवनको उत्तरार्धमा कोइराला नेताबाट राजनेताको स्थानमा पुग्न सफल भए, जो आज पनि सबैका लागि प्रेरणाको स्रोत हुन्।

राष्ट्रपतिले कोइरालाको अजेय आत्मविश्वास, जोखिम मोलेर पनि सही निर्णय गर्ने क्षमता, र लोकतन्त्रप्रति अविचल आस्थाको प्रशंसा गर्दै भन्नुभयो,

“उहाँ कहिल्यै नथाक्ने, साथीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने नेता हुनुहुन्थ्यो। अप्ठ्यारोमा पनि उहाँभित्रको लोकतन्त्रको दियो कहिल्यै निभेन।”

राष्ट्रपति पौडेलले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र स्रोत साधनको समुचित उपयोग आवश्यक रहेको पनि बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र दलहरू जनताको सेवा र विश्वासको पुनःस्थापनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले प्रतिस्पर्धा र सहकार्य सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सबैको अपनत्व बढाएर जनताको अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. कोइरालालाई सबैले मानेका “अभिभावक नेता”को रूपमा स्मरण गर्दै,

“शान्ति प्रक्रियापछिका कठिन घडीमा पनि उहाँको परिपक्वता र नेतृत्व क्षमताले देशलाई सही दिशा दिन सक्यो,” भन्नुभयो।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व. कोइरालाको दृढ इच्छाशक्ति, सक्रियता र लोकतन्त्रप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोइरालाको योगदानले समानता र समावेशितामा आधारित लोकतन्त्रको आधार निर्माण गरेको बताए।

कार्यक्रममा कांग्रेस नेता महेश आचार्य र सुजाता कोइरालाले पनि स्व. कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदानको चर्चा गर्नुभयो।

Facebook Comments Box