दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने
दाङ, ११ असार – दाङको शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विद्युत महसुलमा सहुलियत दिने नीति ल्याएको छ। पालिकाले मङ्गलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत स्थानीयबासीको न्यूनतम २० युनिटसम्मको विद्युत महसुल पालिकाले तिर्ने घोषणा गरेको हो।
पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार यो योजना स्थानीयको मागका आधारमा ल्याइएको हो। अध्यक्ष बस्नेतले भने, “शान्तिनगरबासीको माग अनुसार यो कार्यक्रम ल्याएका हौँ, लुम्बिनी प्रदेशकै यो एउटा नयाँ अभ्यास हो।”
‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने नारासहित ल्याइएको यस योजनाअन्तर्गत नेपाल विद्युत प्राधिकरणमा सिधै गाउँपालिकाबाट न्यूनतम महसुल दाखिला गरिने व्यवस्था मिलाइनेछ। यसबाट सबै नागरिकलाई विद्युत पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
योजना अनुसार, चिकित्साशास्त्र, डाक्टर, र पाइलट अध्ययन गरिरहेका विद्यार्थीहरूलाई विशेष मापदण्डका आधारमा प्रोत्साहन रकम प्रदान गरिनेछ।
त्यसैगरी, राष्ट्रिय स्तरमा छनोट भएका खेलाडीहरूलाई पनि प्रोत्साहनस्वरूप नगद सहयोग उपलब्ध गराइने बजेटमा उल्लेख गरिएको छ, जसले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ।

