मकवानपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

काठमाडौँ, २८ चैतः – मकवानपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान चतरा सडकखण्डमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस गएराति ९ः३० बजेतिर दुर्घटनामा परेको हो। भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार बसमा चालकसहित ३१ जना थिए। जसमध्ये २३ जना घाइते भएका हुन्। जसमा केहीको अवस्था गम्भीर रहेको डीएसपी अर्यालले जानकारी दिए। घाइते हुनेमा वडाध्यक्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारीसम्म छन्।

दुर्घटनामा भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष ४९ वर्षका कासीराम बज्यु समेत घाइते भएका हुन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। डीएसपी अर्याललका अनुसार अन्य घाइते हुनेहरुमा भीमफेदी–३ बुल्मिङ बस्ने ४६ बर्षका श्रीराम बज्यु, भीमफेदी–५ ज्यामिरेकी ५५ बर्षीया रिता कुमारी मगर, भीमफेदी गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी ४५ बर्षकी सुमित्रा लामा र सोही स्थानकी ५५ बर्षकी सानी आलेको अवस्था गम्भीर रहेको छ।

उनीहरुलाई थप उपचारका लागि बुधबार राति नै भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको डीएसपी अर्यालले जानकारी दिए। यस्तै, अन्य घाइतेहरुमा चितवनको राप्ति नगरपालिका–२ गडौली बस्ने २९ बर्षका पशु प्राविधिक डा। सरोज ओझा, उनकी श्रीमती २७ बर्षकी रेश्मा सुवेदी, मकवानपुरको भीमफेदी–२ निगालेका ४५ बर्षका दिलिप राज बुलन, सोही स्थानका यदुनाथ पुडासैनी घाइते भएका हुन्।

मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुली बस्ने ४२ बर्षका नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङ बस्ने २९ बर्षका उज्वल राना मगर, सोही स्थानका ३२ बर्षका सुदिप पराजुली, २७ बर्षको सुयास पाख्रिन, २७ बर्षका शुभाष रुम्बा, भीमफेदी–५ का ५२ बर्षका हितचन्द्र मोक्तान, सोही स्थानका ं२५ बर्षका अनिल स्याङबो, हेटौंडा–१८ बस्ने रुबिन घर्ति रहेका छन्।

यस्तै भीमफेदीकै ५३ बर्षका बुद्विसिंह दोङ, ३९ बर्षकी सिता थिङ, सुर्य माया घलान, करणध्वज पाख्रिन, हेटौंडा–१८ हर्नामाडीका २९ बर्षका बिमल ढुंगाना, भीमफेदी–४ बस्ने ४० बर्षका कृष्णहरी गाहामगर, सोही स्थानका ३८ बर्षका सुजन प्रजा, ४३ बर्षका मान बहादुर लामा, भीमफेदी–१ सानुटार बस्ने ४२ बर्षका राजेन्द्र कुमार स्याङतान, गाउँपालिकाका कृषि प्राविधिक २९ बर्षका सानुकान्छा घिसिङ,

पशु प्राविधिक पुष्पलाल बज्यु, भीमफेदी–३ बस्ने ४८ बर्षको अर्जुन तामाङ घाइते भएको प्रहरीले जनाएको छ। इता, बसका सहचालक उदयपुर रौतामाई गाउँपालिका–५ बस्ने ३२ बर्षकोे सतिह दाहाल घाइते भएका छन् भने बसका चालक हाल सम्म फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box