आज पाँच प्रदेशमा वर्षा हुने सम्भावना
काठमाडौं, २० चैत – आज पाँच प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।
यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीरही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। आज दिउँसो काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। ‘यो भनेको वर्षाको सम्भावना हुँदै नभएको त होइन, तर निकै कम छ’, उनले भनिन्।
यस्तै आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यसबाहेक राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ।

