सत्तारुढ गठबन्धनका नेताहरु सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा
काठमाडौं, १९ असोज – सत्तारुढ गठबन्धनका नेताहरु सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् । दशैंको समयमा समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ । आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।
बैठकमा सहभागी एक नेता भन्छन्, ‘भोलि विहानसम्म भएपनि टुंग्याउने प्रयासमा जुटेका छौं ।’ गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन ।
अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ । यस्तै एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ ।
तर एकीकृत समाजवादी र जसपा दुबै यसमा सहमत छैनन् । सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दलहरु दबावमा परेका छन् । तर सहमति पनि जुट्न सकेको छैन ।

