वैदिक सनातन धर्मावम्बीले घरको मठमा राखे तुलसीको दल

काठमाडौं, २७ जेठ – आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसै अनुसार, वैदिक सनातन धर्मावलम्बीले आज आ आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास पनि भनिन्छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्न नहुने शास्त्रीय विधि छ ।

यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

Facebook Comments Box