बालिकालाई बलात्कार गरेको कसुरमा एक व्यक्तिलाई १५ वर्ष कैद सजाय
काठमाडौं, २४ वैशाख – बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शुक्रबार एक व्यक्तिलाई १५ वर्ष कैद सजाय तोकिएको छ। जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलासले अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो।
उनलाई कैद सजायका साथै रु पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए।गाईवस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा रामले २०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर रामलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएको थियो। जिल्ला अदालतको आदेशमा २०७७ जेठ २६ गतेदेखि उनी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।

