सर्लाहीको फूलजोर पुलबाट यात्रु बस खस्दा चार जनाकाे मृत्यु ३२ जना घाइते

सर्लाही, १४ चैत – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलबाट आइतबार यात्रु बस खस्दा मृत्यु भएका चार जनामध्ये दुई जना यात्रुको सनाखत भएको छ।

मृतकमध्ये सिन्धुलीको तिनपाटन गाउँपालिका २ की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक २४ वर्षीय सुनिल यादवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक एक महिला र एक पुरुषको भने अझै सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार मृतक श्रेष्ठ सुत्केरी हुन्। दुर्घटनामा उनकी तीन महिने छोरी सामान्य घाइते छिन्। मृतक चारै जनाको शव पोष्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

वीरगंजबाट जनकपुर जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको बस आइतबार दिउँसो लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा बसका चालकसहित ३२ जना घाइते भएका थिए। बसका चालक बाराको कलैया उपमहानगरपालिका(१२ निवासी ४८ वर्षीय ज्योतिप्रसाद साहको प्रहरी निगरानीमा मलंगवामै उपचार भइरहेको छ।

घाईतेमध्ये गम्भीर अवस्थाका १० जनालाई काठमाडौं र वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

Facebook Comments Box