चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने
काठमाडौं , ९ चैत – चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन्। पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
वाङ तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार साँझ काठमाडौँ ओर्लदै छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन्। चिनियाँ विदेशमन्त्रीको टोली भारत हुँदै शुक्रबार साँझ काठमाडौँ उत्रनेछ।
वाङ नेतृत्वको टोली हिजो सोमबारदेखि पाकिस्तान भ्रमणमा छ। पाकिस्तानबाट भारत हुँदै नेपाल आउने कार्यक्रम तय भएको हो। विदेशमन्त्री वाङको टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश बिभाग प्रमुख सङ थाओ पनि आउने भनिएपनि अन्तिम समयमा उनले भ्रमण रद्द गरेका छन्। वाङ नेतृत्वको टोलीमा चीनका बिभिन्न मन्त्रालयका उच्च सरकारी अधिकारी रहने छन्।
यस्तो छ कार्यक्रम
चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएको दिन शुक्रबार साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता छैनन्। उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन्।
भोलीपल्ट शनिबार दिउँसो परराष्ट्रमन्त्री डा. खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई एक होटलमा दिवाभोज दिने कार्यक्रम छ। त्यही समय नेपाल र चीनबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ। शनिबार अपरान्ह वाङले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्नेछन्।
आइतबार वाङले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नेछन्। त्यसपछि अन्तिममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर उनी बेइजिङ उड्ने कार्यक्रम रहेको छ।

