काठमाडौँ उपत्यकामा २५५ जना सहित देशभर थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५५ जना सहित देशभर थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६४, भक्तपुरमा २६ र ललितपुरमा ६५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ५९८ आरटी पीसीआर तथा २ हजार ६२१ एन्टीजेन परिक्षण सहित ८ हजार २१९ जनाको परिक्षण गर्दा ८६७ संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८८ हजार ५४७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १५७ रहेको छ ।

