सामाजिक सञ्जाल दर्ताको आज अन्तिम दिन, फेसबुक–इन्स्टाग्राममासहित कुनै पनि संस्था सूचीकृत हुन आएनन्
काठमाडौँ, १८ भदौ – सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटरलगायतका सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गर्न दिएको म्याद आज राति १२ बजे सकिँदै छ ।
तर दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकरणका लागि सम्पर्कमा नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार, तोकिएको समयमा दर्ता नभएका वा सम्पर्कमा समेत नआएका सामाजिक सञ्जाललाई नेपालभित्र बन्द गरिने चेतावनी दिइएको छ ।
ठाकुरले भने, “यदि उनीहरूले इमेलमार्फत भए पनि सूचीकृत हुन चाहेको जानकारी दिए भने बन्द हुँदैन, नत्र सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्ले निर्णय गरिसकेको विषय कार्यान्वयनमा जान्छ।”
यसअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको थियो भने टिकटक प्रतिबन्ध लगाएर पछि सूचीकरण भएपछि पुनः सञ्चालनमा ल्याइएको थियो।
पटक–पटक पत्राचार गरेर पनि अटेरी गरेको ठान्दै सरकारले यसपटक ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ र सर्वोच्च अदालतको आदेशअनुसार सात दिनको अल्टिमेटमसहित सूचना जारी गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गत बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै तोकिएको अवधिसम्म दर्ता नभए क्रमशः सामाजिक सञ्जाल नेपालभित्र निष्क्रिय गराइने बताएका थिए ।

