कर्णाली नदीमा डुंगा पल्टिँदा ३ जना यात्रु बेपत्ता
कैलाली, १७ साउन – कर्णाली नदीमा डुंगा पल्टिँदा कम्तीमा पनि ३ जना यात्रु बेपत्ता भएका छन्। सुरुमा बेपत्ता भएका भनिएका अन्य तीनजनालाई प्रहरी र स्थानीयले उद्धार गरेका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना भएको हो।
बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरा जाने क्रममा आइतबार विहान साढे ११ बजे कर्णालीमा डुंगा दुर्घटना भएको हो।
डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतीक बिष्टले जानकारी दिए। अन्य दुईजना घाइते भएका छन्। थप ५ जना पौडिएर बाहिर निस्किएको डीएसपी बिष्टले बताए। उनका अनुसार डुंगामा १० जना सवार थिए।
सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले कैलालीबाट खोप लगाउन आउनेहरु दुर्घटनामा परेको बताए। सरकारले कैलालीको मोहन्याल गाउँपालिकास्थित रांगा मलेखामा खोप केन्द्र ब्यवस्थापन नगर्दा त्यहाँका बासिन्दा बर्सेनि डुंगाबाट कर्णाली तर्न बाध्य छन्। उनीहरु डुंगाबाट खोप लगाउन बिजौरा हेल्थ पोस्टमा पुग्थे।

