नेपाल–चीन सहकार्यमा गरिएको हाइब्रिड धान खेतीबाट प्रतिहेक्टर ६.८६ टन उत्पादन

नारायणगढ । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती सफल भएको छ। नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा सञ्चालित परीक्षण खेतीबाट प्रतिहेक्टर ६ दशमलव ८६ टन धान उत्पादन भएको जनाइएको छ। आठ सय दिनभन्दा बढीको अनुसन्धानपछि यो उपलब्धि हासिल भएको चिनियाँ धान विशेषज्ञ वाङ छियानले जानकारी दिनुभएको छ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञबाट प्राविधिक ज्ञान र अनुभव आदानप्रदान हुँदा नेपालमा धान अनुसन्धान तथा परीक्षणमा सहयोग पुगेको बताउनुभएको छ। सन् २०२३ मा सुरु गरिएको दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र तरकारी खेतीका तीनवटा प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएका छन्। परियोजनाले लगातार दुई वर्ष उत्पादनमा सफलता हासिल गरेको छ भने सहभागी किसानले उत्पादन गरेका तरकारी कतारलगायत मध्यपूर्वी देशमा निर्यात गर्न थालेका छन्।

Facebook Comments Box