बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण हुँदै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ। पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ।

पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ। पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर पोखरा र काठमाडौं आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।

झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार स्थानीयवासीको श्रमदानबाट निर्माण कार्य अघि बढाइएको छ। हालसम्म १५ लाख रुपैयाँभन्दा बढीको निर्माण कार्य सम्पन्न भइसकेको छ। पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियान पनि सञ्चालन गरेका छन्। यसैक्रममा आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ।

देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गरिने स्थानीय अगुवा बासु पन्तले बताउनुभएको छ। स्थानीयवासीको सामूहिक प्रयासबाट बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थपिने उहाँको विश्वास छ। प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर यसअघि नै चर्चित पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। पृथ्वीराजमार्ग नजिकै विशाल राष्ट्रिय झण्डासहितको पार्क निर्माण भएपछि राजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई समेत बन्दीपुरमा रोकिन र अवलोकन गर्न आकर्षित गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box