चुमनुब्रीका विकट बस्तीमा नुन प्रतिकिलो दुई सय रुपैयाँसम्म

गोरखा – गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट दुई सय रुपैयाँसम्म पुगेको छ। बजारमा ३० देखि ३५ रुपैयाँमा पाइने आयोडिनयुक्त नुन सडक सञ्जालको पहुँच नहुँदा स्थानीयवासीले महँगो मूल्यमा किन्नुपर्ने बाध्यता रहेको छ।

तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा एक प्याकेट नुनको दुई सय रुपैयाँ पर्ने गरेको छ। त्यस्तै, ल्होमा एक सय ५०, बिहीमा एक सय, प्रोकमा एक सयदेखि एक सय ७० र छेकम्पारमा एक सय ५० रुपैयाँसम्म पर्ने गरेको स्थानीयले बताएका छन्। मोटरबाटो नपुगेका बस्तीमा खच्चडमार्फत सामान ढुवानी गर्नुपर्ने भएकाले मूल्य बढेको हो। सामागाउँ र साम्दोसम्म नुन पुर्‍याउँदा प्रतिकिलो एक सय रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ।

सरकारले विकट हिमाली क्षेत्रमा सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान दिँदै आएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि तीन सय ५० क्विन्टल आयोडिनयुक्त नुन पठाएको जनाएको छ। तर अनुदानमा आएको नुन सबै विकट बस्तीमा पुग्न सकेको छैन। सिर्दिबास क्षेत्रमै नुन खपत हुने र माथिल्ला बस्तीका बासिन्दाले महँगो ढुवानी भाडा तिर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

चुमनुब्री गाउँपालिकाका सात वडामध्ये सडक सञ्जालको पहुँचमा वडा नम्बर ३ मात्र रहेको छ। बजेट अभावका कारण बेनिघाट–आरुघाट–लार्के सडक निर्माणले गति लिन नसक्दा बाँकी बस्तीका स्थानीयवासी महँगो ढुवानीको मारमा परेका छन्।

Facebook Comments Box