कृष्णनगरका २६१ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन्। नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नम्बर १, ७ र ९ का स्थानीयवासीलाई लालपुर्जा वितरण गरिएको हो।

नगरपालिकाका अनुसार वडा नम्बर १ का ७३, वडा नम्बर ७ का ४९ र वडा नम्बर ९ का १३९ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन्। केही परिवारले पाँच पुस्तादेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व अहिले आएर प्राप्त गरेका हुन्।

नगरप्रमुख रजतप्रताप शाहले नगरपालिकाभित्रका बाँकी गाउँब्लक जग्गाधनीलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने बताउनुभएको छ। यस्तै, कृष्णनगर, बहादुरगञ्ज र सिर्सिहवाका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।

नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको जानकारी दिनुभएको छ। उहाँले प्रमाणपुर्जामा उल्लेख भएका जग्गाधनीको नाम, कित्ता नम्बर र क्षेत्रफललगायत विवरण जाँच गर्न आग्रह गर्नुभएको छ।

Facebook Comments Box