काठमाडौँमा प्रहरीको स्वीप अपरेसनः फरार कसुरदारसहित ९७ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानमा ९७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ११ र १२ गते सञ्चालन गरिएको स्वीप अपरेसनका क्रममा ८२ पुरुष र १५ महिला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना र चालु मुद्दाका छ जना फरार प्रतिवादीसमेत छन् ।

प्रहरीले सार्वजनिकस्थल, बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रमा निगरानी र चेकजाँच तीव्र बनाएको थियो । प्रहरीका अनुसार यस्ता क्षेत्रमा चोरी, लुटपाट, दुर्व्यवहार तथा बिचौलियाका गतिविधि हुनसक्ने भएकाले विशेष टोली परिचालन गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको बताउनुभएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र अपराध नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

Facebook Comments Box