म्याग्दीका पहिरोपीडित आफैँ बसोबासको व्यवस्था मिलाउँदै, पुनःस्थापनाको चुनौती कायमै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का पहिरोपीडित परिवार अस्थायी आश्रयस्थल छाडेर आफैँ बसोबासको व्यवस्था मिलाउन थालेका छन्। कतिपय आफन्तका खाली घरमा सरेका छन् भने केही सुरक्षित बस्तीमा बस्न थालेका छन्। तर घरजग्गा गुमाएका परिवारको सुरक्षित पुनःस्थापना र आधारभूत सेवा पुनःस्थापित गर्ने चुनौती भने कायमै छ।

किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुन केही दिन अस्थायी आश्रयस्थलमा बसेपछि अहिले दिदी सुनमाया तिलिजाको खाली घरमा बस्न थाल्नुभएको छ। आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको घरमा बस्ने निर्णय गरेको उहाँले बताउनुभयो। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि अन्नपूर्ण गाउँपालिका–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङका बस्ती पहिरोको जोखिममा परेका थिए।

गाउँसँगको सम्पर्क विच्छेद भएपछि जोखिममा रहेका ९१ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा बनाइएको अस्थायी आश्रयस्थलमा राखिएको थियो। पहिरोले केही घर पूर्ण रूपमा भत्काएको छ भने अन्य घर चर्किएर बस्न नमिल्ने भएका छन्। धेरैजसो विस्थापित परिवारले दसैँअघि नै आफन्तका खाली घर तथा सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइसकेका छन्। तर घर, गोठ र खेतीयोग्य जमिनसमेत गुमाएका केही परिवार अझै अन्योलमा छन्।

पहिरोले घर र खेतबारी बगाएपछि नारायण शेरपुञ्जा पुन अझै आश्रयस्थलमै बसिरहनुभएको छ। घरमा रहेको अन्नपात र सामान निकाल्न नपाएको तथा गोठबाट जंगलमा पठाइएको भैँसीसमेत बाटो अवरुद्ध भएकाले फिर्ता ल्याउन नसकेको उहाँले बताउनुभयो। विस्थापित परिवारले अस्थायी बसोबासको व्यवस्था मिलाए पनि खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको अभाव भोगिरहेका छन्। प्रभावित परिवारलाई राहत तथा सहयोगको आवश्यकता अझै रहेको स्थानीय अगुवाहरूले बताएका छन्।

यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ मा विद्युत्, खानेपानी र पदमार्गको समस्या समाधान हुन सकेको छैन। वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ भने स्थानीयले श्रमदानबाट पदमार्ग निर्माण गरिरहेका छन्। खानेपानीको व्यवस्था मिलाउने काम पनि अघि बढाइएको छ।

पहिरो प्रभावित बस्तीको भौगर्भिक अध्ययन हुन ढिलाइ हुँदा कुन बस्तीमा पुनः बसोबास सुरक्षित छ र कुन क्षेत्रबाट स्थानान्तरण गर्नुपर्छ भन्ने निर्णय गर्न कठिन भएको छ। अन्नपूर्ण गाउँपालिका–५ को पाउद्धार र वडा नम्बर ८ को महभिरबाट विस्थापित परिवार बस्दै आएका अस्थायी आश्रयस्थलसमेत खाली हुन थालेका छन्। प्रभावित परिवार आफन्तका घर वा अन्य उपलब्ध स्थानमा बसोबास मिलाउने प्रयासमा छन्।

यस वर्षको मनसुनजन्य विपद्मा अन्नपूर्ण गाउँपालिकामा छ जनाको मृत्यु भएको छ। गाउँपालिकाका अनुसार ६० घर पूर्ण रूपमा र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विस्थापित परिवार अस्थायी आश्रयस्थलबाट आफ्नै व्यवस्थापनतर्फ फर्किन थाले पनि सुरक्षित पुनःस्थापना, आधारभूत सेवा र जीविकोपार्जनको व्यवस्था नहुँदासम्म उनीहरूको कठिनाइ कायमै रहने देखिएको छ।

Facebook Comments Box