थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बुद्धनगर–थापाथली सडकखण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार शंखमूलतर्फबाट थापाथलीतर्फ जाँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोजबड स्कुलनजिक पुलको रेलिङमा ठोक्किएको थियो । त्यस क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०६२ प ९६३१ नम्बरको स्कुटरसँग समेत ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहट कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको उपचारका क्रममा राति १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार २५ वर्षीय दिपेन्द्र दास घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुटर चालक चितवन घर भई हाल काठमाडौं सतुंगल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठ र पछाडि सवार सर्लाही घर भई हाल शंखमूल बस्ने २८ वर्षीय मोहन शाह पनि घाइते भएका छन् । उनीहरू दुवैको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा भएका ५९ प्रतिशतभन्दा बढी दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनबाट भएका थिए । तीमध्ये तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।

Facebook Comments Box