ससुराको हत्या आरोपमा जाजरकोटमा एक महिला पक्राउ
जाजरकोट । ससुराको हत्या गरेको आरोपमा जाजरकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–५ पाँगा निवासी शर्मिला शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो।
गत साउन ११ गते ७५ वर्षीय गंगाराम शाही आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। गंगारामको हत्यामा बुहारी शर्मिलाको संलग्नता रहेको भन्दै उनका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई असोज ८ गते घरबाटै पक्राउ गरेको हो। पक्राउ परेकी शर्मिलामाथि जिल्ला अदालत जाजरकोटबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याको कारण भने प्रहरीले खुलाएको छैन।

