म्यान्मारमा सेनाको हवाई हमलामा ४९ जनाको मृत्यु
बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् । अराकान आर्मी र उद्धारमा संलग्न अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपस्थित स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो ।
घटनामा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटोमा हिँडिरहेका सर्वसाधारणसमेत परेको बताइएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ । रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ ।
उनका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गरेका थिए । अराकान आर्मीले घटनालाई आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भएको गम्भीर हवाई हमला भन्दै जिम्मेवार पक्षविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । म्यान्मारको सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
हमलापछि सार्वजनिक भएका तस्बिर तथा भिडियोमा केही भवनमा आगो लागेको, सवारीसाधन क्षतिग्रस्त भएको तथा नजिकैको पुलको केही भाग भत्किएको देखिएको बताइएको छ । सेनाले यसअघि आफूले वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ । क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ ।
उक्त क्षेत्र हाल अराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ । घटनाको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको समाचारमा उल्लेख छ । म्यान्मारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि सशस्त्र द्वन्द्व चर्किएको हो । त्यसयता सेना, लोकतन्त्र समर्थक सशस्त्र समूह र जातीय सशस्त्र संगठनबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ ।
रखाइन राज्यमा अराकान आर्मीले सन् २०२३ नोभेम्बरदेखि सैन्य अभियान तीव्र बनाएको छ । समूहले राज्यका अधिकांश टाउनसिपमा नियन्त्रण कायम गरेको दाबी गर्दै आएको छ । द्वन्द्व चर्किएसँगै सेनाले व्यापारिक मार्गमा प्रतिबन्ध लगाएपछि रखाइनमा खाद्यान्न अभावसमेत बढेको बताइएको छ ।

