रामपुरमा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला

चितवन । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा करिब १० महिनाको पोथी चितुवा मृत फेला परेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक तथा प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार करेन्ट लागेर चितुवाको मृत्यु भएको पुष्टि भएको हो ।

गत असार–साउनमा रामपुर क्षेत्रमा बच्चासहित माउ चितुवा देखिएपछि डिभिजन वन कार्यालय र जैविक विविधता संरक्षण केन्द्रले नियन्त्रणको प्रयास थालेका थिए । सो क्रममा दुई बच्चामध्ये एउटा भाले चितुवालाई रामपुर नजिकैको झाडीबाट नियन्त्रणमा लिएर संरक्षण केन्द्रमा राखिएको छ ।

गत असारदेखि विशेषगरी भरतपुर महानगरपालिका–१५ र ५ नम्बर वडामा चितुवाको चहलपहल बढेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्ममा समेत चितुवा देखिएपछि नियन्त्रणका लागि ड्रोन, सिसी क्यामेरा, केज ट्रयापिङ र लेग ट्रयाप प्रयोग गरिएको वन कार्यालयले जनाएको छ । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा देखिँदै आएको थियो । मृत फेला परेको चितुवा यही समूहको बच्चा हुनसक्ने सम्भावना रहेको डा सडौलाले बताउनुभयो ।

Facebook Comments Box