सिन्धु नदीको पानी रोक्ने प्रयासलाई युद्धको कदम मानिने : पाकिस्तानी प्रधानमन्त्री
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने वा त्यसको बहावमा अवरोध पुर्याउने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’का रूपमा लिने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले सिन्धु नदी पाकिस्तान मात्र नभई पूरै क्षेत्रका लागि जीवनरेखा भएको बताउनुभयो । भारतले हालको सन्धि रोक्ने गरी गरेको एकपक्षीय निर्णयको कानुनी आधार नरहेको उहाँको दाबी थियो ।
प्रधानमन्त्री शरीफले भारतका दाबी तथा कदमलाई संयुक्त राष्ट्रसङ्घका विज्ञ र कोर्ट अफ आर्बिट्रेसनले समेत अस्वीकार गरेको दाबी गर्नुभयो । पानीलाई कहिल्यै हतियारका रूपमा प्रयोग गर्न नहुने भन्दै उहाँले नदीले देशहरूबीच समृद्धि ल्याउनुपर्ने बताउनुभयो । पाकिस्तानको भागमा पर्ने पानी रोक्ने, त्यसको बहावमा बाधा पुर्याउने वा दिशा परिवर्तन गर्ने कुनै पनि प्रयासलाई युद्धको कदम मानिने उहाँले स्पष्ट पार्नुभयो । यस्ता कदम नचाल्न भारतलाई उहाँले चेतावनी दिनुभएको छ ।
यसैबीच, पाकिस्तानले संयुक्त राष्ट्रसङ्घको महासभामा कश्मीरको विषयसमेत उठाएको छ । प्रधानमन्त्री शरीफले कश्मीरी जनतालाई आफूहरूको आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म पाकिस्तानले कूटनीतिक, राजनीतिक र नैतिक समर्थन जारी राख्ने बताउनुभयो ।
उहाँले कश्मीर पाकिस्तानका लागि अत्यन्त महत्वपूर्ण विषय भएको बताउँदै भारतमाथि धार्मिक विभेद र साम्प्रदायिक हिंसा बढाएको आरोपसमेत लगाउनुभयो । भारतमा धार्मिक स्थलमाथि आक्रमण तथा धार्मिक स्वतन्त्रतामा प्रतिबन्धका घटना भइरहेको उहाँको दाबी थियो ।

