सुदूरपश्चिमसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनी न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर अधिकांश बदली रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहनेछ । कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीसमेत चल्नसक्ने जनाइएको छ ।
आज राति सुदूरपश्चिम तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिमको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

