झापामा बाढी तथा डुबानको निगरानी गर्न पहिलोपटक ड्रोन प्रयोग

झापा । बङ्गालको खाडीबाट विकसित वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानी र उद्धार कार्यका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले शुक्रबार डिभिजन वन कार्यालयसँगको समन्वयमा ड्रोन सञ्चालनमा ल्याएको हो । ड्रोनमार्फत जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबानको सम्भावना रहेका क्षेत्रको निगरानी गरिने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै आवश्यक सूचना सङ्कलन र उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको हो । जोखिम नक्साङ्कनका आधारमा संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा उद्धार तथा प्रतिकार्य अघि बढाइने उहाँले बताउनुभयो ।

उहाँका अनुसार गौरिगञ्ज गाउँपालिका–१ र २ का ४७४ तथा झापा गाउँपालिका–१ र २ का ६९५ गरी जिल्लाका एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौ वटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले जोखिमयुक्त नदी तथा खोलाको नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् । शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो । ती नदी क्षेत्रमा तीनवटा साइरन जडान गरिएको र साँझतिर जलसतह घटेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट झापातर्फ बग्ने नदीमा करिब तीन घण्टामा बाढी आइपुग्ने भएकाले सोही आधारमा साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टम’मार्फत जोखिममा रहेका क्षेत्रमा सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

Facebook Comments Box