कांग्रेसको वडा अधिवेशन ४३ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत मुलुकभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार आज ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । ताप्लेजुङदेखि कैलालीसम्मका ४३ जिल्लामा निर्वाचन प्रक्रिया सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि असोज ४ गते पनि जारी रहने सदस्य सचिव कटुवालले जानकारी दिनुभयो । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Facebook Comments Box