बाढीपहिरोका कारण बागमती र कोशीका विभिन्न सडक प्रभावित
काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित भएको छ । यस्तै, बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी राजमार्ग पहिरोका कारण प्रभावित भएको छ । दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ नेताभीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

