भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख सहयोग गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी डा शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारीपत्र (एमओयू) गरी बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि उक्त रकम उपलब्ध गराउने भएको हो । घलेका अनुसार सहयोग रकमबाट बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न सहयोग पुग्नेछ ।

भोटेकोसी बाढीको पानी घट्दैमा समस्या अन्त्य नहुने उल्लेख गर्दै घलेले बाढीका कारण बेसहारा बनेका बालबालिका र उनीहरूका परिवारले भोगेको पीडाबाट आफू र पत्नी जमुना गुरुङ गहिरो रूपमा प्रभावित भएको बताउनुभएको छ ।

उहाँले कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा समेत प्रभावित बालबालिकालाई सहयोग गर्न पाउनुलाई सौभाग्यका रूपमा लिएको बताउनुभएको छ । सहयोगले बालबालिकालाई अध्ययन निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न तथा भविष्यप्रति आशावादी बन्न मद्दत पुग्ने उहाँको भनाइ छ ।

Facebook Comments Box