अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहीबार बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।

अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने तथा बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ ।

अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, आर्थिक मामिला हेर्ने मन्त्री तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।

Facebook Comments Box