काठमाडौँमा बिहीबारदेखि ग्यास पुरानै मूल्यमा पाइने
काठमाडौँ – काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर पुरानै मूल्य दुई हजार ६० रुपैयाँमा पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले बिहीबारदेखि पुरानै मूल्यमा ग्यास उपलब्ध हुने जानकारी दिनुभएको हो ।
भदौ १४ गते कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईबाट ग्यास ल्याउनुपर्दा लागत बढेको भन्दै ग्यास उद्योगीले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाएर दुई हजार १६५ रुपैयाँ ३८ पैसा पुर्याएका थिए । बुलेटको आवागमन सहज भएसँगै पुरानै मूल्य कायम गर्न लागिएको हो ।
नेपाल आयल निगमका अनुसार कृष्णभिरबाट मङ्गलबार छ वटा र बुधबार २५ वटा ग्यास बुलेट पास भएका छन् । एउटा बुलेटमा करिब एक हजार २५० सिलिन्डर ग्यास आउने गर्छ । एलपी ग्यास उद्योग सङ्घका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर खपत हुने गरेको छ ।
निगमका एलपी ग्यास विभाग प्रमुख विनितमणि उपाध्यायले मुख्य राजमार्ग अवरुद्ध हुँदा साना सवारीसाधनमार्फत ग्यास ल्याउनुपर्दा आपूर्ति प्रभावित भएकोमा अब बुलेट आउन थालेपछि अभाव हट्ने बताउनुभएको छ । उपत्यकामा अधिकांश ग्यास उद्योग धादिङमा रहेकाले सडक सञ्चालनमा आएसँगै रिफिलिङ गरी बजारमा आपूर्ति सहज हुने उहाँको भनाइ छ ।
यसैबीच, आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले नेपालमा थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार मासिक ग्यास आपूर्ति ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी पुर्याउन कूटनीतिक पहल भइरहेको छ ।
अध्यक्ष चन्दले आपूर्ति सहज भएपछि उपभोक्ताले घरछेउकै विक्रेताबाट सहज रूपमा ग्यास सिलिन्डर साट्न पाउने अवस्था बन्ने बताउनुभयो । पछिल्लो समय वैकल्पिक मार्गबाट ग्यास आयात भइरहे पनि मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले लामो समय डिलरमा लाइन बस्नुपरेको थियो ।

